के हो नागरिकतासम्बन्धी विवाद ? के छ अध्यादेशमा ?

मुख्य खबर

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षलाई आफ्नो साथमा लिने प्रयास गरिरहेका बेला आएको नागरिकतासम्बन्धी अध्यादेशलाई धेरैले चासोका साथ हेरेका छन् ।

मधेसका मुद्दा सम्बोधन गरेको देखाउने र जसपाको एउटा समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उद्देश्यले यो अध्यादेश ल्याइएको धेरैको बुझाई छ ।

संसदीय समितिमा छलफलका क्रममा साबिकको नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले जुन-जुन बिषयमा अडान लिएका थिए, बहुमतको बलमा विधेयक संशोधन गरेका थिए, अहिले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही अडान छाडेर अध्यादेश ल्याएका छन् । आखिर के हो विवाद, के छ नयाँ अध्यादेशमा ? के थियो मधेस केन्द्रीत दलको माग ? एक्स्प्लेनरमार्फत् सरल भाषामा बुझाउने कोशिष गरेका छौं ।

के छ नागरिकतासम्बन्धी अध्यादेशमा ?

कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठका अनुसार संविधान- २०७२ र सर्वोच्च अदालतको आदेशअनुसार नै सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको हो । र, यसले नागरिकतासम्बन्धी दुईटा गाँठो फुकाएको छ ।

पहिलो, ३ असोज २०७२ भन्दा अगाडि जन्मसिद्ध नागरिकता लिएकाहरुको नाबालिग सन्तानलाई वंशजको आधारमा नागरिकता दिने ।

दोस्रो, नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने । तर यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिकता कायम रहने छैन । बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भने घोषणा गरे उनको नागरिकतालाई अंगीकृतमा परिणत गरिनेछ ।

अध्यादेशको व्यवस्था विल्कुल नयाँ हो ?

होइन, नेपालको अन्तरिम संविधान २०६३ मा २०४६ चैत मसान्तसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी बसोबास गरेकाहरुलाई जन्मका आधारमा नागरिकता दिने व्यवस्था थियो ।

त्यसअनुसार नेपाल नागरिकतासम्बन्धी ऐन-२०६३ संशोधन भयो र संविधानसभाको निर्वाचन हुनुभन्दा अगाडि नै निवेदन दिने र नागरिकता पाउने व्यवस्था गरियो । विशेष अवस्थामा निवेदन दिन नसकेमा २ वर्षभित्र निवेदन दिन सकिने व्यवस्था कानुनमा नै गरियो ।

तर २०६३ मा १६ वर्ष नपुगेको व्यक्तिले नागरिकता लिन पाएनन् । त्यसैगरी जन्मसिद्ध नागरिकता लिएकाहरुको सन्तानकले कसरी समस्या प्राप्त गर्ने भन्ने पनि व्यवस्था भएन ।

संविधान २०७२ को नागरिकतासम्बन्धी व्यवस्था

यसलाई हल गर्न नयाँ संविधानको धारा ११ को उपधारा ३ मा यो संविधान प्रारम्भ हुनुभन्दा अघि (अर्थात असोज २०७२ भन्दा अघि) जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले आमा र बाबु दुबै नेपाली नागरिक रहेछन् भने बालिग भएपछि वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछ भनियो ।

अध्यादेश नल्याउँदा के समस्या थियो ? 

संविधानमा त जन्मसिद्ध नागरिकका सन्तानले वैशजको नागरिकता पाउने भनियो, तर त्यसअनुसार नागरिकता ऐन संशोधन भएन । कानूनमन्त्री श्रेष्ठका अनुसार संविधानको व्यवस्थाअनुसार ऐन नआउँदा नागरिकताका लागि परेको करिव ३५ हजार निवेदनउपर कारबाही हुन सकेको थिएन ।

‘दलहरुबीच सहमति जुटेको भए संसदबाटै विधेयक पास गर्न चाहेका थियौं । तर दलहरु एक ठाउँमा बस्ने अवस्था रहेन । अदालतले भने पटकपटक निर्देशन दिइरहेको छ’ मन्त्री श्रेष्ठले अनलायनखबरसँग भने, ‘त्यसैले अध्यादेशमार्फत भएपनि यो समस्या सम्बोधन गर्न खोजेको हौं ।’

नयाँ कानुनअनुसार आमाको नामबाट कसरी र कस्तो नागरिकता पाइन्छ ?

अध्यादेशले नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजको नागरिकता लिने बाटो खोलेको छ । तर, यसरी नागरिकता प्राप्त गरेको व्यक्तिको बाबु विदेशी ठहर भए वंशजको नागरिता कायम रहने छैन । निजले बाबुको बसोबास भएको देशको नागरिकता लिएको छैन भने घोषणा गरे उनको नागरिकतालाई अंगीकृतमा परिणत हुने छ ।

यो विषय पनि संविधानले नै सम्बोधन गरेको थियो । २०७२ सालको संविधानमा भनिएको छ, ‘नेपालको नागरिक आमाबाट जन्म भई नेपालमा नै बसोवास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपाली नागरिकता प्रदान गरिनेछ ।’ तर संविधान अनुसार नागरिकता ऐन संशोधन भएन र प्रमुख जिल्ला अधिकारीहरुले ऐन नभएको भन्दै नागरिकता दिएनन् । कतिले अदालतलमा मुद्धा दायर गरी यही प्रावधान अनुसार नागरिकता लिए, धेरैले नागरिकता पाउन सकेका थिएनन् ।

अध्यादेशले अंगीकृत नागरिकको अधिकारबारे कुनै संशोधन गरेको छ ?

यसको सिधा जवाफ हो, छैन ।

हामी स्मरण गर्नुपर्ने के छ भने, संविधानमै नेपाली नागरिकसँग विहे गर्ने विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिनसक्ने छ भनिएको छ ।

विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा नेपालमा स्थायी बसोबास गरेको र विदेशी नागरिकता प्राप्त गरेको रहेनछ भने संघीय कानून बमोजिम अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *